सञ्चारमा दलित महिलाका मुद्दालाई प्राथमिकता दिन माग

राजेन्द्र ताम्राकार
काठमाडौं २८ भदौ । दलित महिलाका मुद्दालाई सम्बोधन गराउनका लागि मुलधारका सञ्चारमाध्यमले आ–आफ्नो सञ्चारमाध्यममा प्राथमिकताका साथ स्थान दिनुपर्नेमा जोड दिइएको छ ।
आमसञ्चारमा दलित महिलाको अवस्था कस्तो छ ?, उनीहरुका मुद्दालाई सञ्चारमाध्यमले कसरी उठाइरहेका छन् ? सञ्चारलाई दलित महिलामैत्री बनाउन के गर्नुपर्ला ? आगामी संविधानसभा निर्वाचनमा दलित महिलाको अर्थपूर्ण सहभागिता अभिवृद्धि गराउन सञ्चारमाध्यमले के–कस्तो भूमिका निर्वाह गर्न सक्छन् ?
लगायतका विषयमा छलफल गर्ने उद्देश्यले दलित महिला संघले आयोजना गरेको ‘सञ्चारमा दलित महिला’ विषयक अन्तरक्रियामा सहभागी विभिन्न सञ्चारमाध्यममा क्रियाशिल पत्रकारहरुले आमसञ्चारमाध्यमले दलित महिलाका मुद्दामा विशेष बहस चलाउनुपर्ने बताएका हुन् ।
अन्तरक्रियामा बोल्दै अन्नपूर्ण पोष्टका सम्पादक गुणराज लुँइटेलले दलित महिलाका मुद्दामा रिपोटिङ्ग गर्नका लागि सञ्चारमाध्यमले छुट्टै सञ्चार निर्देशिका बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि मुलधारका सञ्चारमा उनीहरुका लागि छुट्टै स्तम्भको आरम्भ गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले आमसञ्चार आवाजविहीनहरुको आवाज भनिएपनि व्यवहारमा जसको सम्पर्क र पहुँच छ त्यसैको आवाज सञ्चार बनेको बताउनुभयो । आगामी दिनमा साँच्चिकै आवाजविहीनको आवाज बनाउनका लागि दलित महिलामैत्री सञ्चार नीति बनाएर कार्यान्वयन गर्न सम्वद्ध सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
मधेशवाणी साप्ताहिकका सम्पादक राजेश अहिराजले कस्तो नीति बनेको छ भन्दा पनि महत्वपूर्ण सवाल कस्को नियत कस्तो छ भन्ने कुरा मुख्य भएको बताउनुभयो ।
अहिराजले सञ्चारमाध्यमलाई स्थानीय, क्षेत्रीय राष्ट्रिय र केन्द्रीय गरी चारतहमा विभाजन गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चारमाध्यम राष्ट्रिय नबन्दासम्म राष्ट्रिय एकता सम्भव नहुने भन्दै यसका लागि मूलधारको सञ्चारमाध्यमले दलित, महिला, मधेसी लगायत सबैलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।
आगामी दिनमा पनि दलित महिला संघले आमसञ्चारमाध्यमसंग दलित महिलाका मुद्दामा निरन्तर छलफल चलाउनुपर्ने, लेखक तथा पत्रकारसंग आफ्ना मुद्दालाई स्थापित गराउनका लागि नियमितरुपमा पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
नागरिक दैनिककी पवित्रा सुनारले अहिलेसम्म पनि मुलधारका करिब ९० प्रतिशत सम्पादक÷व्यूरो प्रमुख, डेस्क प्रमुख लगायतका महत्वपूर्ण जिम्मेवारीमा कार्यरत पत्रकारहरु दलित महिलाका सवालमा सम्वेदनशील र गम्भीर नभएको बताउनुभयो ।
सुनारले सञ्चार बाध्यात्मकरुपमा व्यापारमुखी बन्दै गएको र जुन वर्ग र समुदायको पहुँच छ उनीहरुकै सवाललाई प्राथमिकता दिने अवस्था रहेकाले पनि सञ्चारमा दलित महिलाका मुद्दाले स्थान नपाएको गुनासो गर्नुभयो ।
उहाँले दलित महिलाका मुद्दालाई उठान गरेर मात्रै नपुग्ने भन्दै विश्लेषणात्मक रुपमा हेरिनुपर्ने बताउनुभयो । सञ्चारमा दलित महिलाका मुद्दालाई सम्बोधन गर्न र उनीहरुको पहुँच पु¥याउनका लागि नीतिगतरुपमै व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
सामुदायिक सूचना नेटवर्ककी पत्रकार सविता विश्वकर्माले अहिलेपनि मुलधारको सञ्चारमाध्यममा दलित महिलाको नामै सन्दामात्रै पनि गर्व गर्ने अवस्था रहेको भन्दै यस्तो परिस्थितिमा दलित महिलाका मुद्दालाई सम्बोधन गर्नु निकै चुनौती रहेको बताउनुभयो ।
विश्वकर्माले मुलधारको सञ्चारमाध्यममा दलित महिलाका मुद्दालाई सम्बोधन गराउनका लागि उनीहरुलाई भौतिक तथा प्राविधिक दुवै क्षेत्रमा दलित महिला संघजस्ता सरोकारवाला संघसंस्थाले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कान्तिपुर दैनिकका रमेशचन्द्र अधिकारी, हिमालय टाइम्सका पर्शुराम काफ्ले, राजधानीका भिषा काफ्ले, नयाँ पत्रिकाका प्रकाश गुरागाँई, काठमाडौं पोष्टका देवान राई, कमाण्डर पोष्टका रामकुमार एलन लगायतका भण्डै २५ जना सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले मुलधारको आमसञ्चारमाध्यमलाई दलित महिलामैत्री बनाउने कुरामा आफू सम्वद्ध सञ्चारगृहमा आवश्यक पहल गर्ने र दलित महिलाका सवालमा निरन्तर कलम चलाउने प्रतिवद्धता जनाएका छन् । दलित महिला संघको आयोजनामा सम्पन्न कार्यक्रमको सहजीकरण जागरण मिडिया सेन्टरका अध्यक्ष रेमबहादुर विश्वकर्माले गर्नुभएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: