दलित महिलाका मुद्दामा साझा अवधारणा आवश्यक

राजेन्द्र ताम्राकार
काठमाडौं÷९, असार, दलित सभासद्हरुले नयाँ संविधानमा दलित महिलाका मुद्दा सुनिश्चित गराउनका लागि दलित सभासद् समन्वय समिति, संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित नागरिक समाजबीच साझा मुद्दा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
दलित महिला संघद्वारा आज काठमाडौंमा आयोजित ‘नयाँ संविधानमा दलित महिलाका सवालको सुनिश्चितता विषयक’ अन्तरक्रिया कार्यक्रममा दलित सभासद्हरुले समग्र महिलाभित्र दलित महिलाको समानुपातिक प्रतिनिधित्व गराइनुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले सबै नीतिको माउ नीति राजनीति भएको र राजनीतिमा अर्थपूर्ण सहभागिता भएमात्रै दलित महिलाको समग्र विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले दलित महिलालाई राजनीतिमा सक्रिय बनाउनका लागि पार्टीले राजनीतिक प्रशिक्षण दिनुपर्ने र त्यसमा पनि मधेसी दलित महिलाका लागि छुट्टै नीति तथा कार्यक्रमको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
अन्तरक्रियामा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सभासद् जीवन परियारले राजनीतिक दलभित्र पनि दलित तथा दलित महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराइनेछ भनेर संविधानमै स्पष्ट उल्लेख गर्नुपर्ने बताउनुभयो ।
उहाँले संविधानसभाभित्र कुनैपनि विषयमा छलफल गर्दा तथा नीति बनाउँदा समग्र दलितको पक्षमा बनाउनुपर्ने र त्यसमा दलित महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराइनुपर्ने धारणा राख्नुभयो ।
नेपाली काङ्ग्रेसकै सभासद् खड्गबहादुर बस्यालले पहिलो संविधानसभाबाट दलित तथा दलित महिलाका पक्षमा भएका सहमतिलाई संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि सामूहिक रुपमा लड्नुपर्ने बताउनुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सभासद् जीतु गौतमले दलित महिलाका साझा मुद्दालाई संस्थागतरुपले उठाउनका लागि सबैले साझा स्वामित्व लिनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले राजनीतिमा दलित महिलाको पहुँच र अर्थपूर्ण सहभागिताका लागि निर्वाचन प्रणाली र शासकीय स्वरुपले विशेष महत्व राख्ने भएकाले राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणाली दलितमैत्री बनाउनका लागि दलित सभासद्ले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
अन्तरक्रियामा एनेकपा माओवादीका सभासद् तथा नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका अध्यक्ष दलजित श्रीपाइलीले राजनीतिक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व नभएसम्म अन्य अधिकार प्राप्त हुन नसक्ने बताउनुभयो ।
उहाँले दलित समुदायका लागि राजनीतिक तथा प्रशासनिक क्षेत्रमा नियुक्त गर्दा पुरुषको तुलनमा दलित महिलालाई विशेष जोड दिइनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेकपा मालेकी सभासद् कमला विश्वकर्माले दलित महिलाका मुद्दालाई नयाँ संविधानमा लिपिबद्ध गराउनका लागि दलित नागरिक समाज अझ बढि सक्रिय भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
विश्वकर्माले नयाँ संविधानमा दलित महिलाका मुद्दा सम्बोधन गराउनका लागि संविधानसभाका विषयगत समितिबाट पारित प्रतिवेदनमाथि विज्ञहरुलाई राखेर छलफल  चलाउन दलित महिला संघलाई आग्रह गर्नुभयो ।
नेपाली काङ्ग्रसकी केन्द्रीय सदस्य तथा सभासद् कविता सरदार बातरले दलित महिलाका मुद्दालाई सम्बोधन गराउनका लागि अन्य समुदायका गैर दलित महिला र विभिन्न राजनीतिक दलका नेताहरुसंग निरन्तर छलफल गर्नुपर्ने बताउनुभयो ।
बाँतरले दलितभित्र पनि तराई दलित महिलाको अवस्था अत्यन्तै नाजुक रहेकाले त्यसतर्फ गम्भीर हुन सबैको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा एमाओवादीकी सभासद् धना पहरी, दुलारी हरिजन, राष्ट्रिय जनमुक्तिकी सीमाकुमारी वि.क, एनेकपा माओवादीका सभासद् कर्णबहादुर वि.क, सङ्घीय समाजवादी पार्टीका सभासद् डिलबहादुर नेपाली लगायतले दलित तथा दलित महिलाका मुद्दामा नागरिक समाज, दलित सभासद् समन्वय समति र दलित नागरिक समाज सबैले दलित महिलाका मुद्दामा साझा अवधारणा बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न पार्टीसंग आवद्ध दलित सभासद्, दलित महिला नेतृ तथा दलित नागरिक समाजका प्रतिनिधि लगायत गरी ४५ जनाको सहभागिता रहेको थियो ।

Dalit CA Members with Dalit Women leaders participating at Interaction Program

Dalit CA Members with Dalit Women leaders participating at Interaction Program on ‘ Insuring Dalit Women’s Issues in New Constitution at Kathmandu.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: