दलित महिलाले पार्टीमा दबाब दिने

राजेन्द्र ताम्राकार
काठमाडौं १२ भदौ । दलित महिलाले राज्यका हरेक निकायमा जनसङ्ख्याको आधारमा समानुपातिक तथा अर्थपूर्ण सहभागिता सुनिश्चितताका लागि आ–आफ्नो पार्टीमा दबाब दिने सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।
दलित महिला संघद्वारा आयोजित ‘समावेशी राजनीति तथा सामाजिक अन्तरघुलन विषयक’ तीनदिने  तालिमका अवसरमा बोल्दै विभिन्न पार्टीसम्बद्ध दलित महिलाले नयाँ बन्ने संविधानमा दलित महिलाको हकहित र अधिकार सुनिश्चित गराउनका लागि एकजुट भै लाग्नुपर्नेमा जोड दिएका हुन् ।
तालिममा बाँके, कैलाली, कञ्चनपुर, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाबाट एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, मधेसी जनअधिकार फोरम र नेपाल कम्यूनिष्ट पार्टी समाजवादीमा आवद्ध २६ जना दलित महिलाको सहभागिता रहेको थियो ।
संघले विभिन्न पार्टीमा आवद्ध दलित महिलालाई राजनीतिक सशक्तिकरण, नेतृत्व विकास, समावेशी राजनीति तथा सामाजिक अन्तरघुलन, मानवअधिकार लगायतका विविध विषयमा तालिम दिई सशक्त बनाउने र राजनीतिक पार्टीमा दलित महिलाका सवाललाई सशक्त ढंगले स्थापित गराउन पहल गर्ने, गराउने उद्देश्यले विगत लामो समयदेखि विभिन्न तालिमको आयोजना गर्दै आएको छ ।
दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले राजनीतिमा दलित महिलाको अर्थपूर्ण सहभागिता अभिवृद्धि गराउनका लागि राजनीतिक पार्टीहरुले नै उनीहरुका लागि विशेष प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले जबसम्म दलित महिलाको आर्थिक अवस्था बलियो हुँदैन तबसम्म उनीहरु राजनीतिमा अगाडि बढ्न नसक्ने बताउँदै यसका लागि सरकारले राज्यका हरेक संरचनामा रोजगारीको उपयुक्त व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
एकीकृत नेकपा माओवादीका नेता विश्वभक्त दुलाल ‘आहुति’ ले “सामाजिक अन्तरघुलन विषयमा प्रशिक्षण दिँदै आर्थिकरुपमा मोटामोटी गैरदलितको जस्तो अवस्था, राजनीतिकरुपमा गैरदलितकै जस्तो अर्थपूर्ण सहभागिता र साँस्कृतिकरुपमा अन्तरजात अथवा अन्तरजातीय विवाह गरेकै कारण दमन हुने, सामाजिक विभेद हुने अवस्थाको अन्त्य नै सामाजिक अन्तरघुलन हो भन्नुभयो ।’’
उहाँले सरकारका सबै निकायमा दलितको लागि रोजगारीको व्यवस्था गर्ने, बालिघरे प्रथालाई आधुनिकीकरण गरेर व्यावसायिक बनाउने, भूमिहीन दलितका लागि उचित जग्गाको व्यवस्था गर्ने र राजनीतिक र प्रशासनिक क्षेत्रमा जनसङ्ख्याको आधारमा थप विशेषाधिकार सहितको समानुपातिक प्रतिनिधित्व गराउन सके दलित समस्या आफै समाधान भएर जाने विश्वास व्यक्त गर्नुभयो ।
तालिमको उद्देश्यमाथि संघकी महासचिव कला स्वर्णकारले प्रकाश पार्नुभएको थियो । तीनदिनसम्म सञ्चालन तालिममा संघकी अध्यक्ष सोबले सामाजिक समावेशीकरण, यामबहादुर किसानले राजनीतिक समावेशीकरण, श्याम श्रेष्ठले सङ्घीयता, विश्वभक्त दुलाल ‘आहुति’ ले सामाजिक अन्तरघुलन विषयमा सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।

तालिमको अन्त्यमा सहभागीले जिल्लागतरुपमा राज्यका हरेक निकायमा दलित महिलाको अर्थपूर्ण सहभागिताका लागि राजनीतिक दल, सरकार, सम्बन्धित सरोकारवाला निकाय, नागरिक समाज, आमसञ्चारमाध्यम, दलित तथा गैर दलित संघसंस्था क–कसले के कस्तो भूमिका निर्वाह गर्नुपर्ला र कसरी गर्नुपर्ला भन्ने विषयमा समूह कार्य गरी छलफल र प्रस्तुतीकरण गरेका थिए । सहभागीले जिल्लागतरुपमा कार्ययोजना तयार गरेका छन् । भदौ १० देखि १२ गते तीनदिनसम्म सञ्चालन तालिमको सहजीकरण हीरासिं विश्वकर्माले गर्नुभएको थियो ।

 

Image

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: